0
Image copyright.
अमेरिकी राष्ट्रपति ओबामाले हिलरी क्लिन्टनलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका छन्।
हिलरीले ट्विट गरेको एउटा भिडियोमा ओबामाले राष्ट्रपति पदका उनी हालसम्मै सबैभन्दा योग्य व्यक्ति हुनसक्ने धारणा राखेका छन्।
हिलरीसँग प्रतिस्पर्धामा रहेका भरमन्टका सिनेटर बर्नी स्याण्डर्ससँगको भेटवार्तापछि ओबामाको त्यस्तो घोषणा आएको हो।
आफ्ना प्रतिस्पर्धी स्याण्डर्सको समर्थन भने हिलरीले अझै पाइसकेकी छैनन्।

अभियान

Image copyrightREUTERS
अब दुवै जनाले चाँडै संयुक्त चुनावी अभियान शुरु गर्नेछन् र पहिलो संयुक्त उपस्थिति आगामी हप्ता विसकन्सिनमा हुने बताइएको छ।
ओबामाले भने, “यो अविस्मरणीय यात्रामा शुरुदेखि नै मसँगै रहनुभएकाहरुलाई सबैभन्दा पहिला ‘म उनीसँग छु’ भन्ने जानकारी दिन चाहान्छु, म निक्कै उत्साहित छु र हिलरीको पक्षमा अभियान चलाउन आतुर छु।”
उनले पूर्व अमेरिकी विदेशमन्त्री क्लिन्टन र सिनेटर बर्नी स्याण्डर्स प्राइमेरी अर्थात पार्टीगत चुनावमा एकअर्काका प्रतिस्पर्धी भएपनि दुवै देशभक्त रहेको र उनीहरुले अमेरिकाका लागि सबैले विश्वास गर्ने मान्यता बोकिरहेको उल्लेख गरे।
ओबामा र हिलरी सन् २००८ मा डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय चुनावको मनोनयनमा एक अर्कासँग लडेका थिए।
तर पछि ओबामाले हिलरीलाई आफ्नो विदेशमन्त्री बनाएका थिए।

प्रतिस्पर्धा

पछिल्लो समर्थनपछि रोयटर्स समाचार संस्थासँग बोल्दै हिलरीले एक समयका तीव्र प्रतिस्पर्धी ओबामा आफ्नो ‘सच्चा मित्र’ रहेको भन्दै आफ्ना लागि उक्त समर्थनको असाधारण महत्व रहेको बताएकी छन्।
रिपब्लिकनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने ठानिएका डोनल्ड ट्रम्पले ओबामाले हिलरीलाई समर्थन गरेर आफ्नो कार्यकाल थप ४ वर्ष लम्ब्याउन खोजेको र त्यो कसैले पनि नचाहेको प्रतिक्रिया दिएका छन्।
बीबीसीका उत्तर अमेरिका संवाददाता भन्छन् अब बराक ओबामा पनि नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावी मैदानमा ओर्लिएका छन्।
बर्नी स्याण्डर्सले राजधानी वासिङटन डिसीमा अर्को साता हुने प्राइमेरीमा भाग लिने बताएका छन् तर उनले डोनल्ड ट्रम्पलाई हराउन हिलरीसँग मिलेर काम गर्ने उल्लेख गरेका छन्।
Source BBC News 

Post a Comment

 
Top